चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई गरेको पत्राचार पेश गर्न संसद पन्तको माग

काठमाडौं । सांसद रघुजी पन्तले सरकारले विगतमा चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई गरेको पत्राचारको विवरण संसदमा पेश गर्न माग गरेका छन् ।
आज प्रतिनिधिसभाको शून्य समयमा आफ्नो विचार राख्दै पन्तले सदनले सर्वसम्मतले पारित गरेको नेपालको अतिक्रमित भूभाग समेटिएको नक्साबारे जानकारी गराइएको पत्र माग गरेका हुन् ।
‘वर्तमान परराष्ट्र मन्त्रालय र सरकारले संसदबाट पारित चुच्चे नक्सालाई मान्यता दिलाउन कुन देश सँग के के पत्राचार गरेको छ ? त्यसको सम्पूर्ण जानकारी संसदलाई तत्काल दिइयोस्,’ उनले भने ।
नेपालको नक्साबारे परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नै नगराएको विषय सार्वजनिक भइसकेको छ ।
चीनले केही दिनअघि आफ्नो नक्सा सार्वजनिक गर्दा छेउमा नेपालको पुरानै नक्सा समेटेको विषय सार्वजनिक भएपछि चुच्चे नक्साको विषय सतहमा आएको थियो ।
नेपालको सदनले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा पारित गरिसकेको छ । तर सरकारले ती क्षेत्र समेटिसकिएपछिको नेपालको नयाँ क्षेत्रफल भने सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया