NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कांग्रेसका कुन्दन काफ्लेले दिए प्रमुख सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले उक्त जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका पार्टी संसदीय दलका नेता बहादुर सिंह लामालाई राजीनामा पत्र बुझाएका हुन् ।

काफ्लेले सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको जनाएका छन् ।

प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र जनताको काम गर्न समय अपुग भएकाले यस्तो निर्णय लिएको उनले उल्लेख गरेका छन् ।

‘केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

विद्यार्थी राजनीतिमा लामो समय क्रियाशील काफ्ले गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा निर्वाचित भएपश्चात नेपाली कांग्रेसले उनलाई बागमती प्रदेशसभाको प्रमुख सचेतकको जिम्मेवारी दिएको थियो ।