क्रिकेट हेर्न श्रीलंका जाँदा बालेनले जे देखे

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह खेलप्रेमी छन् । भारतविरुद्धको खेलमा नेपाली खेलाडीको हौसला बढाउन मंगलबार उनी श्रीलंका नै पुगे ।
श्रीलंकामा खेल हेर्न जाने क्रममा देखे, भोगेका अनुभूति उनले सामाजिक सञ्जालमा साझा गरेका छन् ।
बालेनले संघीय सरकारले काठमाडौं महानगर र आसपासको क्षेत्रमा १०० रोपनी जग्गा उपलब्ध गराएको खण्डमा रंगशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
यस्तो छ बालेनको स्ट्याटस
फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनका कर्मचारीको प्रश्न थियो, ‘यति धेरै नेपालीहरू एक्कासि श्रीलंका किन आइरहेका छन् ?’ श्रींलंकाको अध्यागमन नै चकित हुने संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए ।
त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५०० देखि २००० को बीचमा थियो । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला ।
टिभीमा देखिने विराट, रोहितहरूलाई आँखाअगाडि मैदानमा देख्न पाएका थियौं । उनीहरूको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरूको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भएजस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडीहरूमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन । तर जसै खेल अघि बढ्यो, नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब भारतीय खेलाडीहरूको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यही बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौं ।
गजबको कुरा के थियो भने, त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद ।
यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडि र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौं
प्रतिक्रिया