NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुन तस्करीका आरोपी खरेल कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ

काठमाडौं । हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एकजनालाई पक्राउ गरेको छ।

रुपन्देही घर भई हाल काठमाडौंको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

ब्युरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौं ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए। यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन। उनीबारे सूचना संकलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए।

सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका छन्। उनीहरूले अहिले पनि तस्करीका सूचना संकलन जारी राखेको प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका वेला काठमाडौंको सिनामंगलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो।

ब्रेकसुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ।