NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छनोटमा तीन चलचित्र

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ ।

टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा समेत छनोट भएको छ ।

‘विन्डो अन एसियन सिनेमा’ अन्तर्गत छनोट भएको चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका छन् । उनले भने,‘यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।’ राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । सोही महोत्सवमा सौरभ राईले निर्देशन गरेकाे ‘गुराँस’ पनि छनोट भएको छ ।

चेक रिपब्लिकको ‘कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलो प्रदर्शनी (प्रिमियर) भएको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।

दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाईसमेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राईले नै गरेका छन् ।चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेकी छन् भने खगेन्द्र लामिछानेले पिताको भूमिकामा छन् ।

अभिनेता लामिछानेले विश्वले नेपालको मौलिक कथा हेर्न चाहेको बताए । उनले भने, ‘हाम्रो चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनुनै हाम्रो मौलिकता त्यहाँ रुचाइनु हो । अहिले भेनिस, बुसान र टोरोन्टो जस्तो विश्वकै प्रसिद्ध महोत्सवमा हाम्रा चलचित्र छन् । यो गौरवको विषय हो ।’

उनले निजी पहलमा प्राप्त भइरहेको उपलब्धिमा सरोकारवाला निकायले सहायता गर्नुपर्नेमा जोड दिए । नीरञ्जन भेटवालले निर्देशन गरेको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि बुसानमा छनोट भएको छ ।

यो एसियाली लघुचलचित्र विधामा छानिएको हो । दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण असोज १७ देखि २६ सम्म चल्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष