NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कान्तिमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरणमा गगन र महेशले के भने ?

काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गुमाएकी बालिका रेजिशा गोपालीको निधनको विषयलाई लिएर सांसदहरु सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले बालिकाको मृत्यु भएको विषयलाई लिएर सरकारसँग जवाफ मागेका हुन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारसँग जवाफ मागे ।

उनले नियम नभएको भन्दै घटनालाई ढाकछेप गर्न खोजिएको बताए । ‘हाम्रो आखाँ अगाडि ५ बर्षिया बालिका काठमाडौंको केन्द्रमा रहेको बाल अस्पतालमा उपचार गर्ने सुविधा हुँदा हुँदै उपचार नपाएर छटपटाएर मर्नु परेको घटना पढ्न सुन्न बाध्य भएका छौँ,’ उनले भने, ‘यो घटनालाई सामसुम नपारियोस् । यसका बारेमा सत्य तथ्य के हो ? छानविन गरेर सदनलाई जानकारी गराइयोस ।’

थापाले अत्यावस्यक सेवा लिनु पर्ने मान्छेले लाइन स्न नपर्ने नियम रहेको पनि बताए ।

‘म आफै स्वास्थ्यमन्त्री भएको बेला सम्झिन्छु । त्यहि बेलामा बनाएका नियमहरु छन् । अस्पतालमा अत्यावस्यक सेवा लिनु पर्ने मान्छेले लाइन बस्नै पर्दैन्, त्यो नियम छ । अहिले नियम नभएको कारणले गर्दा भएन भनेर ढाकक्षेप गर्न खोजिएको छ,’ उनले भने ।

यस्तै बर्तौलाले कान्ति बाल अस्पतालको गम्भिर लापरवाही, चरम गैर जिम्मेवारीपनले गर्दा ५ बर्षको एउटा बच्चा उपाचार नपाएर ज्यान गुमाउन परेको उनले बताए ।

उनले पटक–पटक त्यहाँको सुरक्षा गार्ड, कर्मचारीलाई बिरामीलाई असाध्यै गार्हो भइरहेको इमर्जेन्सीको ढोका खोल्देउ भनेर बिन्ती गर्दा पनि बालिकाले उपचार नभएको बताए ।

उनले यस घटनाका सम्बन्धमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो ।