NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

नयाँ सुरक्षा चुनौती र खतरालाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रुपमा बढ्दो नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।

इन्टरपोल स्थापनाको एक सताब्दी पुगेको अवसरमा बिहीबार काठमाडौंमा नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले साइबर अपराध, आतङ्कवाद र अन्तर्राष्ट्रिय सङ्गठित अपराधजस्ता विश्वव्यापी नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न जरुरी रहेको बताए ।

उनले अपराध नियन्त्रणमा देशहरुबीच आपसी समन्वय जरुरी रहेको बताउँदै यस कार्यमा नेपाल प्रहरीले गरेको प्रयासको सराहना व्यक्त गरे। एक शताब्दीदेखि इन्टरपोल अन्तर्राष्ट्रिय अपराध र आतङ्कवाद विरुद्धको विश्वव्यापी लडाइमा अमूल्य साझेदार भएको जनाउँदै गृहमन्त्री श्रेष्ठले यसले अन्तर्राष्ट्रिय प्रहरीबीच सहयोग अभिवृद्धि गर्नुका साथै सूचनाको आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएकामा प्रशंसा गरे ।

उक्त कार्यक्रम मनाउँदै गर्दा नेपाल प्रहरीका पुरुषोतम नेपालीले सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए। गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय प्रहरीको सहयोगलाई सुदृढ पार्ने नेपालको प्रतिबद्धतालाई पुन दोहो-याए । न्याय र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्ने सङ्कल्पमा नेपाल सरकार लागिरहेको उनले बताए ।

आफ्नो सिमानाभित्र शान्ति र सुव्यवस्था कायम राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, ‘विश्वले नै अन्तर्राष्ट्रिय अपराधबाट गम्भीर चुनौतीको सामना गरिरहेको छ, त्यस्ता अपराध नियन्त्रण गर्न सुदृढ साझेदारको खाँचो रहेको छ ।’