NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

स्व. नेम्वाङलाई कसले कसरी सम्झिए ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान निधन भएको छ ।

नेपालको संविधान निर्माणमा संविधानसभाको अध्यक्ष बनेर निर्णायक भूमिका खेलेका उनी एक पटक मन्त्री भएका थिए ।

पाँच पटक सभामुख र दुई पटक राष्ट्रियसभा अध्यक्षको भूमिकामा रहेका उनी पछिल्लो पटक २०७९ मंसिर ४ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए ।

चुनाव जितेपछि उनले २०७९ फागुनमै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरे । तर उनी सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भए ।

स्व. नेता नेम्वाङलाई नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगाएयत नेपाली राजनीतिका बिभिन्न नेताहरुले यसरी सम्झिएः

राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएकोछ । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।’

राष्ट्रलाई अपूरणीय क्षति : पुर्वराष्ट्रपति

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले) का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’

नेम्बाङको निधनबाट मर्माहत छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङको निधनले मर्माहत भएको बताएका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्बाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेम्वाङको निधनले स्तब्ध: पुर्वप्रधानमन्त्री देउवा

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताए् ।

सामाजिक सञ्जाल एक्समा सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेम्वाङलाई यसरी सम्झिए ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको भन्दै नेम्वाङलाई स्मरण गरेका छन् ।

निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताए ।

पुर्वप्रधानमन्त्री नेपालद्वारा दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेम्बाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

हाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्बाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

संविधान निर्माणमा नेम्वाङको भूमिका महत्त्वपूर्णः पुर्वप्रधानमन्त्री खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् ।

वक्तव्य जारी गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित भएको उल्लेख गर्दै उनले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

मुलुकले शालीन राजनीतिज्ञ गुमायोः अध्यक्ष रेग्मी

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताएका छन् ।

उनले कानूनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानूनी र संवैधानिक इतिहासमा पूर्व सभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गरे ।

पूर्व अध्यक्ष रेग्मीले भने, ‘सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका खेल्नुभयो ।’

उनको निधनको खबरले साह्रै दुःख लागेको बताउँदै रेग्मीले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना प्रकट गरे ।

देशले अनुभवी राजनीतिज्ञ गुमायो: सभामुख

सभामुख देवराज घिमिरेले नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताएका छन् । नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको उल्लेख गरे ।

‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, उनले भने ।

संसद्ले एक अनुभव नेता गुमायोः राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन् ।

शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरे ।

‘२०६२÷६३ को जनआन्दोलनपछि पुनः स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उनले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ’, जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो ।’

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय: पूर्व सभामुख

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्व सभामुख सापकोटाले स्मरण गरे ।

नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता: गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताए ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनले नेम्वाङ नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको भएको बताए ।

नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उनले उल्लेख गरे ।

‘उहाँ (नेम्वाङ) संविधानबाट संविधान घोषणा गर्ने कुशल नेता मात्र हुनुहुन्थेन, उहाँ संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत हुनुहुन्थ्यो’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘नेम्वाङले त्यसलाई निकास निकाल्नुहुन्थ्यो ।’

नेम्वाङ बौद्धिक व्यक्ति : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २०७२ सालमा दलहरूबीच सहकार्य र सामञ्जस्यता कायम नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अध्यक्ष केसीले नेम्वाड्डको कानुनको क्षेत्रको गहन अध्ययन, बौद्धिक क्षमता तथा सामन्तवादविरुद्धको ऐक्यबद्धताले नै संविधान निर्माणमा भूमिका खेल्न सम्भव भएको बताएका छन् ।

कांग्रेस महामन्त्री गगनले यसरी सम्झिए

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा महामन्त्री थापाले संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभा सदस्य नेम्बाङको निधनको खबरले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

थापाले संविधानसभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्बाङले गरेको समन्वयकारी भुमिका सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।

‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,’ महामन्त्री थापाले फेशबुकमा लेखेका छन् ।

थापाले नेम्बाङकोे आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

नेम्वाङ अत्यन्तै सालिन र नम्र नेता : महामन्त्री शर्मा

यस्तै नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेम्वाङलाई अत्यन्तै सालिन र नम्र नेताको निधनले स्तब्ध र दुखित तुल्याएको बताएका छन् ।

उनले लेखेका छन्, ‘संविधानसभाको अध्यक्षका रुपमा संविधान निर्माणका समयमा उहाँले निभाउनु भएको महत्त्वपूर्ण भुमिका देशले सदैव सम्मानसाथ स्मरण गरिरहने छ । हिृदयदेखि भावपुर्ण श्रद्धाञ्जली !’

पार्टीको ‘मियो ढल्यो: एमाले सचेतक

नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेम्बाङको निधनसँगै पार्टीको ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

नेम्वाङको निधनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुःख व्यक्त गरे ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवम् शालीन नेता सुवासचन्द्र नेम्बाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु ।’