NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

भौतिक पूर्वाधारका ९ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उप महानिर्देशकसहित नौ जना सहसचिवको सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णय गर्दै सडक विभागका उपमहानिर्देशकसहित मन्त्रालयका महाशाखा, केन्द्र तथा आयोजनालगायतमा कार्यरत सहसचिवको सरुवा गरेका हुन् ।

मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाएको छ ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ ।

यस्तै यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी उद्धबप्रसाद रिजाललाई दिएको छ । यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराई ११ साउनमा सरुवा भएर गृह मन्त्रालय पुगेका थिए ।

यसैगरी पुष्पलाल मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका उनको जिम्मेवारी खोसिएको छ ।

त्यसैगरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख बनाएर पठाइएको छ ।

यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा उपमहानिर्देशकमा सरुवा गरिएको छ ।

उत्तर दक्षिण तथा व्यपारिक मार्ग विस्तार आयोजनाको प्रमुख रहेका श्यामबहादुर खड्कालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकमा पठाइएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख शुभराज न्यौपाने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरामा सरुवा भएका छन् ।

त्यस्तै उपमहानिर्देशक कुवेर नेपालीलाई सडक विभागको पुल आयोजना समन्वयकर्ताबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा जिम्मा दिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष