NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यसपालि विभूषण वितरण नगर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । यो वर्ष राष्ट्रपतिबाट विभूषण वितरण नगर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण अब प्रचलित अन्तर्राष्ट्रिय कानुनको अध्ययन गरेरमात्रै वितरण गरिने निर्णय भएको हो ।

सधैं विवादमा आउने गरेको विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाउन सो निर्णय गरिएको जनाइएको छ । यसबारे अध्ययन गर्नका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाभित्र अध्ययन गरेर प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ ।

त्यस्तै, आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पनि स्वीकृत गरेको छ । उनी सेप्टेम्बरको अन्तिममा भ्रमणमा जाने तय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

–कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने ।

–साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने ।

–सिंचाई नीति, २०८० स्वीकृत गर्ने ।

–नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।

–विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने ।

–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने ।