NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

गैह्रीगाउँ हत्या प्रकरण : एसएसपीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन

काठमाडौं । काठमाडौंको गैह्रीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

टोलीलाई विविध विधि र प्रविधिको अधिकतम प्रयोग गरी घटनाको सुक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले बताए । गए राति ११ः५५ बजेको समयमा काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ । चारै जनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।