मौसम : यी स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको आँकलन

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया