NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपाल टेलिकमले ल्यायाे चाडपर्व लक्षित अफर, के-के छन् ?

काठमाडौं । नेपाल टेलिकमले चाडपर्व लक्षित अफर ल्याएको छ । टेलिकमले तीज र सविंधान दिवसको अवसरमा  चाडपर्व अफर उपलब्ध गराउने भएको हो ।

यस अन्तर्गत ग्राहकहरुले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस पाउन सक्ने टेलिकमले जनाएको छ । यो अफर सोमबारदेखि असोज ६ गतेसम्म लागु हुनेछ ।

टेलिकमका अनुसार ग्राहकले अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथै नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने सय मिनेट भ्वाइस कल सुविधासहितको प्याकेज पाउन सक्नेछन् ।

त्यसैगरी ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँमा ७ दिन सम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक,. २९४ मा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ मा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक प्राप्त गर्न सक्ने छन् ।

यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा छन् भने पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा रहेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दासमेत ग्राहकले बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गर्न सक्ने छन् । यस अनुसार दुइ सयदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुने छ । त्यसैगरी पाँच सय र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा ग्राहकले पाउने छन् ।