NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

बल्छीले दिए राजु मास्टरलाई बधाई

काठमाडौं । राजु मास्टरका रूपमा परिचित कलाकार राजु पौडेलले असोज ५ गतेबाट नयाँ हास्य टेलिश्रृंखला ‘लफडा’ प्रसारणमा ल्याउने भएका छन् ।

पौडेल र अर्का कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ ले यसअघि  संयुक्त सहकार्यमा दुई टेलिश्रृंखला हल्का रमाइलो र जुठे प्रस्तुत गर्दै आएका थिए । अनलाइन सट्टेबाजी वन एक्स बेटको प्रचार आरोपमा पक्राउ परेर रिहापछि जुठेमा सहकार्य यथावत् रहे पनि हल्का रमाइलोबाट अलग भएर पौडेलले लफडा श्रृंखला ल्याउन लागेका हुन् ।

लामो समयदेखि सहकार्यमा रहेर सफलता हासिल गरेका पौडेल र श्रेष्ठको हल्का रमाइलोको सहकार्य किन टुट्यो अहिलेसम्म खुलेको छैन । हिरासतमा पुगेपछि निम्तिएको खटपटका कारण हल्का रमाइलोबाट अलग भएर राजुले नयाँ श्रृंखला ल्याउन लागेको बताइए पनि उनीहरूले त्यसलाई अस्वीकार गर्दै विगतजस्तै हार्दिकतापूर्ण सम्बन्ध रहेको बताउँदै आएका छन् ।

उनीहरूले यस्तो जिकिर गरे पनि अनलाइन सट्टेबाजी प्रकरणमा धरौटीमा जिल्ला अदालतबाट रिहा भएपछि बढेको मनमुटावले सर्वाधिक लोकप्रिय सामाजिक कथानक टेलिश्रृखला जुठेको प्रसारण नै अन्योलमा परेको थियो । लामो गलफतीपछि उनीहरू यसमा सहकार्य गर्न तयार भए पनि युट्युब च्यानल परिवर्तन गरिएको छ । यसअघि पौडेलको युट्युबबाट प्रसारण हुने गरेकोमा ओएसआर डिजिटललाई दिइएको हो ।

नयाँ श्रृंखला राजु मास्टर युट्युब च्यानलबाट प्रसारण हुनेछ । पौडेलले आफ्ना अन्य प्रोजेक्टजस्तै यसलाई पनि सफल बनाइदिन आग्रह गरेका छन् ।

आफूसँग लामो समयदेखि सहकार्यमा रहेका पौडेलले नयाँ श्रृखला ल्याउने भएपछि श्रेष्ठले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमा उनले ‘दादाको नयाँ कामका लागि अग्रिम शुभकामना’ लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष