विद्यालय ठप्प पारेर शिक्षा विधेयकविरुद्ध शिक्षकहरू काठमाडौंको सडकमा

काठमाडौं । शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएका छन् ।
संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षकहरु काठमाडौंको सडकमा उत्रिएका हुन् ।
विभिन्न प्रदेशबाट गाडी रिजर्भ गरेर आएका शिक्षकहरु माइतीघर मण्डलमा पर्दशन गरेका छन् । उनीहरुले शिक्षकको हकहितविरोधी विधेयक ल्याएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित आलोचना गरेका छन् ।
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् ।
आधा शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएका छन् भने अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन् । विद्यालयमा हाजिर भएर पनि पेन डाउन गरेकाले पठनपाठन पूरै ठप्प भएको छ ।
विधेयकमा शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ ।
यस्तै, दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि शिक्षक महासंघको असन्तुष्टि छ ।
सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने व्यवस्थामा पनि महासंघले संशोधन चाहेको छ ।
विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका शिक्षकहरुलाई वार्तामा आउन शिक्षा मन्त्रालयले आह्वान गरे पनि शिक्षकहरु वार्तामा बसेका छैनन् ।
शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।
शिक्षकहरूले सडकै ढाकेर आन्दोलन गरेपछि ट्राफिकलाई सवारी आवागमत सुचारु गराउन सकस परेको छ । अहिले माइतीघर बानेश्वर खण्डमा सवारीसाधनको आवागमन ठप्प छ । यसले पूरै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनाएको छ ।
प्रतिक्रिया