NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

शिक्षा विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकलाई संसदमा सच्याउने प्रतिवद्धता जनाएका छन् ।

शिक्षक महासंघको नेतृत्वमा हिजोदेखि देशभरका विद्यालय बन्द गरेर काठमाडौं केन्द्रीत आन्दोलन भइरहेको छ ।

यसै शन्दर्भमा महामन्त्री थापाले सामाजिक सञ्जाल फेशबुकमा आन्दोलनको स्वरूप पनि परिवर्तन गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।

थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको भन्दै त्यसलाई संसदमा आफुहले सच्याउने प्रतिवद्धता जनाँउदै विद्यालय बन्द नगर्न आग्रह गरे ।

‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’ महामन्त्री थापाले भने, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ ।’

महामन्त्री थापाले सांसदको भूमिका एवं विवेकमाथि विश्वास गर्न पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु ।’

शिक्षकहरुले विधेयकविरुद्ध आज दोस्रो दिन आज पनि आन्दोलन जारी राखेका छन् । बिहीबार दोस्रो दिन पनि माइतीघरबाट नयाँबानेश्वरसम्म आएर फेरि माइतीघर फर्किने र कोणसभा गर्न गइरहेका छन् ।

आज मात्रै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसँग वार्ता गरे पनि आन्दोलन रोकेनन् । तर छलफल सकारात्मक भएको र फेरी वार्तामा बस्ने सहमती भने भएको थियो ।

उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको बताइएको छ ।

छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएका थिए ।

श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।

शिक्षकहरुको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन नचल्दा सर्वसाधारणहरू सास्ती भोग्न बाध्य भएका छन् ।

विधेयक विरुद्ध शिक्षकहरुको आन्दोलनका कारण बुधबार हिजो पनि सवारीसाधन सञ्चालन अस्तव्यस्त बनेको थियो । शिक्षक महासंघका अनुसार देशभरबाट एक लाख भन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष