NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०र८१ को सुरुवाती दुई महिनामा मुलुकले दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो । गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ ।

अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ । त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।

गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो ।नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ ।

साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड बराबर हो ।