NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बेइजिङ विजनेस समिट : नेपालमा लगानी गरेर लाभ लिन प्रस्ताव

बेइजिङ । ‘नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ उद्योगी व्यवसायीलाई अपिल गरे । उनले भने, ‘मैले पहिले पनि भन्दै आएको हुँ कि सरकार एक्लैले नेपालको समग्र विकास सम्भव छैन । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र समन्वय आवश्यक छ र त्यसको वातावरण बनाउन सरकार पनि तयार छ ।’

यही आसय र आवश्यकता प्रधानमन्त्री दाहालले करिब तीन महिना अघि भारत भ्रमणका क्रममा पनि राखेका थिए । नयाँदिल्लीमा आयोजित नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका थिए । चिनियाँजस्तै भारतीय उद्योगीलाई पनि नेपालमा लगानीका लागि उनले अपिल गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित सो सम्मेलनमा प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई नेपालमा आउन यसरी आमन्त्रण गरेका हुन् ।

प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा आफ्ना दुई विशाल भूगोल र जनसङ्ख्या भएका छिमेकीको भ्रमण गरी त्यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेपछि नेपालमा वैदेशिक लगानीको ढोका विगतको भन्दा बढी मात्रामा खुला त ? यो प्रश्न दुवै भ्रमणमा सहभागी नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मेलनमा सहभागी पत्रकारले सोधेका थिए ।

ढकाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा विगतको तुलनामा फरक आउनेमा विश्वस्त छन् । उनले भने, ‘म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन । तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ । उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौँ ।’

चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उनको धारणा छ । नेपालमा नीतिगतरुपमा त कुनै समस्या छैन तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उनको भनाइ छ ।

नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उनको जोड छ । नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।