NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नयाँ नोट वितरण गृहकार्यमा राष्ट्र बैंक, एक जनाले कति पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहार लक्षित गरेर प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए ।

हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुनेछ ।

अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिएको थियो। सोही सुविधालाई निरन्तरता दिँदै यस वर्ष पनि घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।