NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एक महिनादेखि ४ सहायक हवलदारसहित २२ प्रहरी सम्पर्कविहीन

काठमाडौं । एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदारसहित र २२ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल वि.सु गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन छन्। त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू सम्पर्कविहीन छ्न्।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च)को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।