गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।
बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन ।
यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।
राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने सवारीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया