NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

एसियाली खेलकुद : मंगोलियाविरूद्ध क्रिकेटमा नेपालले बनायो विश्व कीर्तिमान

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध विश्व कीर्तिमान बनाएको छ ।

टी-२० क्रिकेटमा मंगोलियाविरुद्ध मैदान उत्रिएको नेपालले ३१४ रनको कीर्तिमानी स्कोर बनाएको हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदाना मंगोलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो। कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङपछि नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गर्न सफल भएको हो ।

कुशल मल्लले विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे ।

कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन् । यसअघिको सर्वाधिक छिटो अर्धशतको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारस खड्काको नाममा ४९ बलमा थियो।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

नेपालका लागि कुशल भुर्तेल र मोहम्मद आशिफले ओपनिङ गरेका थिए। जसमा पहिलो विकेट नेपालले आशिफ शेखको रुपमा गुमाएको थियो। आशिफ १७ बलमा १६ रन बनाएर आउट भए। उनले २ चौका प्रहार गरे।

नेपालविरुद्ध मंगोलियाका इरडेनबुलगन,जमेनसुरेन र अल्टनखुयागले एक/एक विकेट लिएका थिए।