NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मंगोलियाविरूद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी जित निकालेको छ ।

नेपालले मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको हो । टी-२० क्रिकेटमा मंगोलियाविरुद्ध मैदान उत्रिएको नेपालले तीन विकेटको क्षतिमा मंगोलियाविरुद्ध ३१५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठूलो अन्तरको जित हो । यो कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा भएको खेलमा मंगोलिया ४१ रनमा समेटिएको हो । मंगोलियाविरुद्ध नेपालका करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।

मंगोलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो। कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङपछि नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गर्न सफल भएको हो ।

कुशल मल्लले विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे ।

कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन् । यसअघिको सर्वाधिक छिटो अर्धशतको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारस खड्काको नाममा ४९ बलमा थियो।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

नेपालका लागि कुशल भुर्तेल र मोहम्मद आशिफले ओपनिङ गरेका थिए। जसमा पहिलो विकेट नेपालले आशिफ शेखको रुपमा गुमाएको थियो। आशिफ १७ बलमा १६ रन बनाएर आउट भए। उनले २ चौका प्रहार गरे।

नेपालविरुद्ध मंगोलियाका इरडेनबुलगन,जमेनसुरेन र अल्टनखुयागले एक/एक विकेट लिएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष