NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियोस्: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा नेता पौडेलले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकमाथि भएका श्रृंखलावद्ध आक्रमणका घटनाप्रति खेद प्रकट गर्दै कडा कारवाही गर्न माग गरेका हुन् ।

‘यसले हाम्रो सिङ्गो स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना गरेको छ भने, मानवाधिकार, शान्ति सुरक्षा, लगायतका विषयमा गम्भीर प्रश्न उठेको छ,’ उनले लेखेका छन्, ‘यस्ता घटना पछाडि दोषी को छ भनेर सरकारले निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारवाही गर्न र स्वास्थ्यकर्मीलाई सेवा प्रदानका लागि शान्तिपूर्ण वातावरण निर्माण गर्न माग गर्दछु ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले अरूको जीवन बचाउन रातदिन खटिने सेवकहरू नै आफ्नो जीवन असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘पछिल्लो समय अस्पतालमा कार्यरत डाक्टर, चिकित्सक लगायतका स्वास्थ्य सेवाकर्मी माथि भएका श्रृंखलावद्ध आक्रमणको खेद प्रकट गर्न चाहन्छु ।’

उनले स्वास्थ्यकर्मीमाथि भएका यस्ता घटनाले सम्पूर्ण स्वास्थ्य सेवाकर्मीको मनोबल कमजोर हुँदै गएको पनि उल्लेख गरेका छन् ।

‘एक त खर्चिलो शिक्षा प्रणालीका कारण महँगो शुल्क तिरेर अध्ययन गर्नुपर्ने अवस्था छ,’ उनले भनेका छन्, ‘राज्यले स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधा दिन नसक्दा दक्ष जनशक्ति देश छोडेर जाने कहालीलाग्दो स्थिति छ ।’