NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

एमाले बागमती प्रदेश अधिवेशन: सार्वजनिक भएन उम्मेदवारको अन्तिम नामावली, मतदान अनिश्चित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि हुने मतदान अनिश्चतबनेको छ ।

यसअघि आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि त्यसलाई सारेर १ बजेका लागि तय गरिएको थियो ।

तर आन्तरिक तयार नभएको भन्दै १ बजेका लागि तय भएको मतदान पक्रिया पनि दिउँसो ४ बजे तोकिएको छ ।

बुधबार साँझ नै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म अन्तिम नामावली सार्वजनिक गरिएको छैन् ।

अन्तिम नामावली सार्वजनिक नभएपछि मतदान पक्रिया सुरु हुने अवस्था नबनेको हो । निर्वाचन अधिकृत सानुराम पोखरेलले बिहीबार ४ बजेबाट पनि मतदानको समय सर्न सक्ने बताए ।

४ बजेपछि सरेपनि मतदान र परिणाम भने रातभरिमा आइसक्ने जनाइएको छ । एमाले बागमतीको नेतृत्वका लागि ५ पदाधिकारीसहित २४० सदस्यीय कमिटीमा ५ सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

यसअघि सर्वसम्मत रूपमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास गरिएको भएपनि सहमति नजुटेपछि निर्वाचन गर्ने निर्णय गरिएको हो । मतदान भने, विद्युतीय भोटिङ मेशिनमार्फत् गरिने छ ।

त्यसका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा रहेको जनाइएको छ ।