एमाले बागमती अधिवेशन: ६ बजेबाट मतदान

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्वका लागि ६ बजेबाट मतदान हुने भएको छ ।
यसअघि आज बिहान ८ बजेका लागि मतदान समय तोकिएकोमा त्यसलाई सारेर १ बजे मतदानको समय तय गरिएको थियो । १ बजेको समयलाई पनि सारेर ४ बजे तोकिएको थियो ।
आन्तरिक तयारी नपुगेको भन्दै ४ बजेलाई सारिएको थियो । फेरि अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गर्दै साँझ ६ बजेपछि मतदान हुने तय भएको हो ।
प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावलि प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ ।
एमाले बागमतीको नेतृत्वका लागि ५ पदाधिकारीसहित २४० सदस्यीय कमिटीमा ५ सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।
सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
यसअघि सर्वसम्मत रूपमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास गरिएको भएपनि सहमति नजुटेपछि निर्वाचन गर्ने निर्णय गरिएको हो । मतदान भने, विद्युतीय भोटिङ मेशिनमार्फत् गरिने छ ।
त्यसका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा रहेको जनाइएको छ ।
प्रतिक्रिया