NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
अन्तर्वार्ता

रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ

प्राणघातक हुँदाहुँदै पनि यो प्राथमिकतामा परेन, सन् २०३० को लक्ष्य भेट्टाउन कठिन छ

काठमाडौं । रेबिज प्राणघातक रोगमध्ये एक मानिन्छ । यो रोगबाट हालसम्म एक जनाबाहेक कोही पनि बाँच्न सफल भएका छैनन् ।

नेपालमा पनि यो रोग प्रकोपका रूपमा रहेको छ । सरकारी तथ्यांकअनुसार, वार्षिक ३५–४० जनाले यो रोगका कारण ज्यान गुमाउने गरेका छन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका  पशु चिकित्सक डा. नवराज श्रेष्ठ रेबिज गम्भीर प्रकृतिको रोग भए पनि सरकारले तदनुरूपमा गाम्भीर्यता नदेखाएको गुनासो गर्छन् ।

पशुपन्छी क्षेत्रले यसलाई महत्त्वमा राख्ने गरे पनि अन्यले नदिएको उनको बुझाइ छ । रेबिजबारेका केही भ्रमले रेबिजका संक्रमित बढिरहेको ठान्ने डा. श्रेष्ठ रेबिज उन्मूलनसम्बन्धी सन् २०३० को लक्ष्य टाढिँदै गएको बताउँछन् ।

रेबिज रोगको अध्ययन तथा  निदानमा सक्रिय डा. श्रेष्ठसँग विश्व रेबिज दिवसको छेको पारेर नेपालवाच प्रतिनिधिले गरेको केही सवाल:

रेबिज रोगको अध्ययन र निदानमा लागिरहनुभएको छ । वास्तवमा यो कस्तो रोग हो ?

रेबिज विषाणुबाट लाग्ने प्राणघातक रोग हो । मुख्यतः यो कुकुरको रोग हो । अर्को शब्दमा भन्नुपर्दा पशुबाट मानिसमा या मानिसबाट कुकुरमा लाग्ने जुनोटिक रोगहरूमध्येको एक हो ।

यो रोग यी स्तनधारी प्राणी, जसको रगत तातो हुन्छ, तिनीहरूलाई लाग्छ । चमेरालाई चरा मानिन्छ तर यो पनि स्तनधारी नै हो । त्यसैले यसलाई पनि रेबिज रोग लाग्छ । सर्प र कछुवामा भने रेबिज रोग लाग्दैन ।

रेबिज कुन–कुन जनावरबाट मानिसमा सर्छ वा फैलन्छ ?

नेपालको परिवेशमा भन्नुपर्दा विशेषगरी कुकुर, बिरालो र स्याल यो रोगका मुख्य स्रोत हुन् । त्यसैगरी, न्याउरी मुसा र केही हदसम्म चमेरोबाट पनि यो रोग फैलन्छ ।

रेबिज मान्छेबाट पशुमा पनि सर्छ भन्नुभयो । रेबिजको खानी मानिने कुकुर, चमेराबाट संक्रमित भएका मान्छेबाट फेरि पशुमा सर्छ कि सर्दैन ?

यो जुनोटिक रोगभित्र पर्छ । यो भनेको पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने वर्गभित्र पर्छ भन्ने हो । मलाई जहाँसम्म लाग्छ, अहिलेसम्म यो रोग मान्छेबाट मान्छेमा सरेको छैन । मान्छेबाट पशुमा त झनै सरेको छैन । त्यो जुनोटिक वर्गमा पर्नेमध्ये एउटा रोग हो मात्रै भन्न खोजिएको हो ।

नेपालमा अहिले यो रोगको अवस्था कस्तो छ ? यसको संक्रमण दर के छ ?

यससम्बन्धी तथ्यांक स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग हुन्छ । उक्त तथ्यांक हामीसँग नभए पनि अध्ययनका क्रममा थाहा हुन्छ ।

यो वर्षको तथ्यांक अहिले मसँग छैन तर गत वर्ष यसबाट ३२ जनाको ज्यान गएको थियो । यो रोगबाट सरदरमा वार्षिक ३० देखि ३५ मानिसको मृत्यु हुने गरेको रेकर्ड छ ।

तर मेरो विचारमा यो रेबिजबाट भएको मृत्युको वास्तविक तथ्यांक होइन, योभन्दा अझै धेरै संख्यामा यसबाट मानिसको मृत्यु भएको हुनुपर्छ । किनभने, हाम्रोमा अध्ययन, अनुसन्धान नै हुँदैन, रिपोर्ट पनि आउँदैन ।

पशुतर्फको अवस्था पनि उत्तिकै जटिल छ । यसबाट वार्षिक ५०० को मृत्यु हुने गरेको छ । त्यो पनि ‘अन्डर रिपोर्टिङ’ हो । मान्छेको जस्तै दूरदराजबाट पशुको पनि रिपोर्टिङ हुँदैन । त्यसैले योभन्दा धेरै संख्यामा रेबिजबाट पशुको मृत्यु हुन्छ भन्ने हाम्रो अनुमान छ ।

रेबिजबारेको सचेतना कुन तहमा छ ? रेबिजका स्रोत मानिने जनावरले टोकेपछि अस्पतालसम्म पुग्ने र त्यसबाट जोगिन प्रयास गर्ने संस्कृति नेपालमा कस्तो छ ?

मानिसहरूले रेबिजबारे सुनेका छन् । यो प्राणघातक रोग हो भन्ने पनि धेरैलाई थाहा छ । चार-पाँच कक्षाभन्दा माथि अध्ययनरत विद्यार्थीदेखि बुढापाकासम्म रेबिज रोग कुकुरले टोकेपछि सर्छ, यो प्राणघातक हो भन्ने जान्दछन् । यति हुँदाहुँदै पनि मान्छेको मृत्यु भइरहेको छ ।

किन त ? किनभने, यो रोगले कम प्राथमिकता पाएको छ । ०७८ सालमा आएर बल्ल यो रोगले प्राथमिकता पाएको छ । ०७८ सालमा दश प्रमुख जुनोटिक रोगमा यसलाई पनि समेटिएको छ । त्यसमा कोरोनाभाइरसलाई पनि राखिएको छ ।

रेबिजबाट बच्नका लागि ध्यानदिनुपर्ने कुराबारे बताइदिनुहोस् न ।

कुकुरले टोकिसक्दा पनि कतिपयले ‘घरकै कुकुरले टोकेको हो, खोप लगाउनुपर्दैन’ भनेको सुनिन्छ । कतिले दुई महिनाअघि मात्रै खोप लगाएको भनेर हल्का रूपमा लिइदिन्छिन् ।

‘दुई महिनाको बच्चाले टोकेको त हो नि, किन खोप लगाउनु प-यो’ भन्ने सोच राख्ने पनि हुनुहुन्छ । यसले मान्छेहरूलाई ‘डाइभर्ट’ गराइरहेको छ ।

कुकुरले टोकेपछि रेबिज सर्छ भन्ने थाहा पाएर पनि यसरी हेलचेक्र्याइँ गरिरहेका छन् । रेबिज संक्रमणका कारण मृत्यु भएकाहरूको हिस्टी हेर्दा अधिकांशको मृत्युको कारण यही देखिन्छ ।

सबै कुकुरमा रेबिजको पूरा लक्षण नदेखिन सक्छ । २० प्रतिशत कुकुरमा यो लाटो अवस्थामा हुुन्छ । त्यस्ता कुकुरमा चञ्चल नगरी कुनातर्फ एक ठाउँमा बस्ने, र्याल काढ्नेजस्ता लक्षण देखिन्छ ।

यो रोगबाट संक्रमित कुकुरले टोक्छ भन्ने बुझाइ छ । यो सत्य होइन । किनभने, सबै कुकुरले टोक्दैनन् ।

रेबिजको मृत्युदर शत प्रतिशत नै छ भनिन्छ । यस्तै हो ?

रेबिज रोगको अहिलेसम्म कुनै औषधि छैन । अमेरिकाकी रेबिज संक्रमित एक महिलाबाहेक सबैको मृत्यु भएको छ भन्ने छ । यो रोगबाट ती संक्रमित महिलाचाहिँ कसरी बाँचिन् ? यसपछाडिको कारण प्रष्ट भइसकेको छैन ।

रेबिज संक्रमण भएको व्यक्ति नबाँच्ने कारणचाहिँ के होला ?

जबसम्म टोकेको ठाउँबाट रेबिजको भाइरस मस्तिष्कमा पुग्दैन, त्यतिबेलासम्म लक्षण यसको देखिँदैन । मस्तिष्कमा पुगेपछि बल्ल लक्षण देखिन सुरु हुन्छ ।

लक्षण नदेखिई उपचार गर्ने कुरा पनि आएन । शंका लागेर खोप लगाउने हो भने रोग लाग्ने सम्भावना हुँदैनथ्यो । तर हामीले यसतर्फ बेवास्ता गर्दै आइरहेका छौं ।

परिणामतः यो रोगको भाइरस मस्तिष्कसम्म पुग्छ र लक्षण देखापर्छ । लक्षणपश्चात उपचार गर्न भाइरसलाई मार्ने कुनै औषधि दिने हो । यसरी दिएको औषधि जब मस्तिष्कमा पुग्छ, तब यसको भाइरस मर्छ ।

तर यसमा अहिलेसम्म सल्टन नसकेको मामला के छ भने यो भाइरसले मस्तिष्कसम्म औषधि पुर्याउने रक्तनलीलाई बन्द गरिदिन्छ । त्यसलाई चिकित्सा भाषामा ‘ब्लड ब्रेन ब्यारियर’ भनिन्छ ।

प्रारम्भमै खोप लगायो भने त यसबाट जोगिन सकिने रहेछ नि होइन ?

सही कुरा गर्नुभयो । दुनियाँमा सबै कुराको फाइदा/बेफाइदा हुन्छ । यसको पनि छ । त्यो के भने रेबिजविरुद्धको खोप हामीले समयमै खोप लगायौं भने शत प्रतिशत निवारण हुन्छ ।

खोपको प्रभावकारिता शत प्रतिशत छ । तर यसतर्फ ध्यान नदिएर खोप लगाएनौं र संक्रमण भइहाल्यो भने शत प्रतिशत मृत्यु हुन्छ ।

रेबिजविरुद्धको खोपचाहिँ कहाँ–कहाँ पाइन्छ होला ?

पशुको हकमा प्रायः फ्र्रिज राखिएको (कतिपयमा फ्रिज राखिएको हुँदैन) एग्रोभेटमा पाइन्छ । सहरी क्षेत्रका अधिकांश एग्रोभेटमा यो पाइन्छ ।

काठमाडौंको हकमा शुक्रराज ट्रपिकल अस्पताललगायतमा यो खोप उपलब्ध छ । जिल्लामा यो खोप पाइने भए पनि कहाँ, के–कति मात्रामा पाइन्छ मलाई पूर्ण जानकारी छैन ।

रेबिजबारे केही भ्रमहरू पनि छ । माथि केही प्रसंग यहाँले उल्लेख गरिसक्नुभयो । त्यसबाहेक अन्य भ्रमणहरू के–के छन् ?

‘सानो, बच्चा कुकुरले टोक्यो भने खोप लगाउन पर्दैन’ भन्ने बुझाइ मानिसमा छ । तीन महिना भएपछि बल्ल कुकुरलाई खोप लगाइने भएकाले यस्तो सोच हाबी भएको देखिन्छ ।

त्यसैले तीन महिनामुनिका कुकुरका बच्चाले टोकिहालेमा खोप लगाइँदैन । यो रेबिजबारेको सबैभन्दा ठूलो भ्रम हो । हप्ता, दश दिनकै कुकुरले टोक्दा पनि रेबिज लाग्न सक्ने भएकाले यसबाट मुक्त हुनुपर्छ । यो सन्देश निकै महत्त्वपूर्ण छ ।

‘घरमै पालेको कुकुर हो, बाहिर कतै छाडेको छैन, खोप लगाएको एक वर्ष पनि भएको छैन, त्यसैले मैले खोप लगाउनु पर्दैन’ भन्ने अर्को भ्रम पनि छ । यसबाट पनि हामी मुक्त हुनुपर्यो ।

मासु या दूधबाट सर्छ/सर्दैन भन्ने जिज्ञासा पनि छन् । अहिलेसम्म रेबिज संक्रमित वस्तुको मासु या दूध खाएर संक्रमण भएको पाइएको छैन । त्यसैले अहिलेसम्मको मान्यतामा दूध र मासुबाट रेबिज सर्दैन नै भन्ने छ ।

अर्को थाहा पाउनुपर्ने कुरा, यो भाइरस अत्यन्त कमजोर हुन्छ । दिउँसोको घाममा १५ मिनेटमै यो मर्न सक्छ । तसर्थ, पकाएर खाएको मासु र दूधबाट यो सर्दैन ।

रेबिज प्राणघातकमध्ये एक रोग भएकाले यसमा गम्भीर हुनुपर्ने देखिन्छ । सरकारले यसलाई कत्तिको गम्भीरतापूर्वक लिएको पाउनुभएको छ ?

रेबिज रोगसम्बन्धमा स्वास्थ्य क्षेत्रले उति धेरै महत्त्व दिएको पाइँदैन । अन्य रोगबाट धेरैको संख्यामा मृत्यु भइरहेको हुन्छ, रेबिजबाट जम्मा ३०-३५ जना त हो नि भन्ने सोचाइ छ ।

तर हामी भेटेरिनरी क्षेत्रकाले भने यसलाई एकदमै महत्त्व दिएका छौं । यो रोग न्यूनीकरणका लागि मान्छेमा सबैभन्दा पहिले सचेतना हुनुपर्छ । जस्तोसुकै कुकुरले टोके पनि खोप लगाउनुपर्छ भन्ने सन्देश आम मानिसमा पु-याउनु अहिलेको आवश्यकता हो ।

नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएको छ । यो लक्ष्य भेटिने सम्भावना कत्तिको देख्नुहुन्छ ?

पहिलो कुरा के बुझ्नुपर्यो भने, सन् २०३० सम्ममा सबैको मृत्युदर शून्य बनाउने भनिएको होइन । कुकुरको टोकाइबाट मानिसमा हुने मृत्युदरलाई मात्र शून्यमा झार्ने भनिएको हो ।

मानिसमा ९९ प्रतिशत कुकुरको टोकाइबाट र एक प्रतिशत अरू कारणबाट रेबिज भएको पाइन्छ । त्यो ९९ प्रतिशतलाई शून्य बनाउने भनिएको हो ।

अन्य कारणबाट पनि रेबिज संक्रमण हुने भएकाले त्यो शून्य नहुन सक्छ । हामी यतिबेला सन् २०२३ मा छौं । सन् २०३० आउन अब मात्र ७ वर्ष बाँकी छ ।

प्रत्येक वर्ष हाम्रो तथ्यांक हेर्ने हो भने गत वर्ष पशुमा ४०को हाराहारमी रेबिज संक्रमण भएको थियो । यसपालि, यो संख्या बढेर १०४ पुगेको छ । यसले अहिले रिपोर्टिङ गर्ने क्रम बढ्दै गएको जस्तो पनि देखिन्छ ।

रिपोर्टिङ भएपछि हामीले पनि त्यही अनुसार योजना बनाउन सक्छौं । यही रफ्तारले सन् २०३० सम्ममा हामीले त्यो लक्ष्य भेट्छौंजस्तो मलाई लाग्दैन । जनचेतनाको कमी, अपर्याप्त तथ्यांक र खोपको पहुँच नहुँदा यो लक्ष्य हासिल गर्न गाह्रो पर्ने देखिन्छ ।

त्यो लक्ष्य किन टाढिँदै छ ? यसका कारण के हुन् ?

यो रोगलाई नियन्त्रण गर्ने तीनवटा मुख्य उपाय छन् । एउटा छ, जनचेतना । दोस्रो, कुकुरको संख्यालाई नियन्त्रण गरेर पनि यसलाई कम गर्न सकिन्छ । यहाँ धेरै छाडा सामुदायिक कुकुर छन् ।

रेबिजको मुख्य स्रोत कुकुर हुँदाहुँदै पनि हाम्रो प्रचलित ऐन अनुसार यसलाई मार्न पाइँदैन । तिनीहरू निकै अनियन्त्रित छन् । त्यसैले कुकुरको नियन्त्रण गर्नुपर्ने हुन्छ ।

‘एनिमल बर्थ कन्ट्रोल क्याप्म’बाट त्यसको नियन्त्रण गर्न सकिन्छ । अर्को उपाय भनेको ‘मास भ्याक्सिनेसन’ हो । यसबाट बच्न सबै कुकुरलाई खोप लगाउनुपर्छ । तर नेपालमा कति कुकुर छन् अहिलेसम्म तथ्यांक छैन । यसको गणना नभए पनि करिब १२/१५ लाख कुकुर रहेको हाम्रो अनुमान छ ।

नेपाल सरकारको राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले वार्षिक रूपमा एक लाख ८० हजार डोज खोप उत्पादन गर्दै आइरहेको छ । यसबाहेक ७/८ लाख हाराहारी डोज खोप विदेशबाट आयात हुने गरेको छ । वर्षमा एक पटक कुकुरलाई रेबिजविरुद्धको खोप दिनै पर्छ । यसरी हेर्दा सबै कुकरका लागि रेबिजविरूद्धको खोप पर्याप्त देखिँदैन ।

कुकुरको भ्याक्सिनेसन कसरी हुनुपर्छ होला ?

एउटा कुकुर जन्मिसकेपछि तीन महिनामा एउटा खोप लगाइन्छ । फेरि चार महिनामा अर्को खोप दिइन्छ र एक वर्षमा अर्को । भनेपछि एउटा कुकुरलाई एक वर्षमा तीन वटा खोप दिनुपर्छ । अहिले देशमा उत्पादित र बाहिरबाट आयात गरेको खोप यी कुकुरलाई दिन पर्याप्त छैन ।
कसैलाई कुकुरले टोकिहाल्यो भने तत्काल गरिहाल्नुपर्ने काम के–के हुन्छ ? रेबिजबाट जोगिन कस्ता सावधानी अपनाउनुपर्छ होला ?

कुकुरले टोकिहाल्यो भने सबैभन्दा पहिला साबुन पानीले टोकेको भागमा १५ मिनेटसम्म धुनुपर्छ ।

जहाँ भए पनि जुनसुकै साबुनले तुरुन्तै लगातार १५ मिनेटसम्म धाराको पानी (फ्लोइङ वाटर)मा धुनुपर्छ । त्यसपछि स्वास्थ्य चौकी, अस्पताल या मेडिकलमा गएर थप सल्लाह लिनुपर्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष