रातभर के-के भए ? : इन्द्र दहमा रातभर दीपावली, सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जना पक्राउ

काठमाडौं । बिहीबार दिनभर देश तथा विदेशमा भएका विभिन्न घटनाहरुले सञ्चारमाध्यममा राम्रै स्थान पाए । तर, रातभर के भयो त ? भन्ने जिज्ञासालाई मेटाउन हामीले छुटेका केही खबरलाई यहाँ समावेश गरेका छौँ ।
प्रधानसेनापति स्वदेश फिर्ता
प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे ।
नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।
लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए ।
बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्याई मेला सुरु, रातभर दीपावली
इन्द्रजात्राको तेस्रो दिन बिहीबार साँझ भक्तपुरको इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्र देवतालाई विराजमान गराई पोखरीको वरिपरि दीपावली गरी भव्य मेला सुरु भएको छ ।
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्याई साँझबाट मेला सुरु भएको छ ।
भाद्र शुक्ल चतुर्थीको दिन साँझ दीपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
सुर्तीजन्य पदार्थ बेचेको आरोपमा झण्डै चार सय जना पक्राउ
टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ ।
अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्रिपरिषद्का एक जना सदस्यले बताएका छन् ।
टर्कीएका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा ‘अपरेसन फग’ अभियानमा तस्करी र सङ्गठित अपराधविरुद्धका कारबाहीमा छ सय ७२ स्थानमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको लेखेका छन् ।
बढ्दो मुद्रास्फीति र चुरोटलाई महँगो बनाउने कर वृद्धिका कारण गैरकानुनीरुपमा चुरोटलगायत सुर्तिजन्य पदार्थको तस्करी बढेको छ ।
टर्किएले गत डिसेम्बरमा अवैध सुर्ती उत्पादन र बिक्री रोक्न कानुनी व्यवस्थामा संशोधन गरेको थियो । संशोधित उक्त कानुनले अवैध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गर्नेलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया