NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अस्पतालमा पुरुषको फोन : बूढीले छाडेर गई, म के गरु ?

अस्पतालको हटलाइनमा थरीथरीका समस्या, केहीले पाएन जीवनदान

डेढ महिनाअघि ललितपुरको लगनखेलमा रहेको मानसिक अस्पतालमा एक अज्ञात व्यक्तिको फोन आयो । हटलाइन फोनमा आत्तिँदै एक महिला ‘श्रीमान्सँगको झगडाको कारण आफूले आत्महत्या गर्न लागेको’ भन्दै चिच्याउन थालिन् । वसुन्धराबाट फोन गरेकी उनले फोन गर्दागर्दै आफ्नो हात काटेपछि चिच्याएकी थिइन् । अस्पतालका परामर्शदाताले तत्कालै नेपाल प्रहरीलाई महिलाको फोन नम्बर र ठेगाना टिपाए अनि उद्धारका लागि आग्रह गरे । प्रहरी पुग्दा ती महिलाको देब्रे हात काटिएको थियो, रगत बगिरहेको थियो । प्रहरीले महिलालाई अस्पताल पुर्‍यायो । अस्पतालमै पुगेर मानसिक अस्पतालका चिकित्सक र मनोपरामर्शदाताले महिला र उनका श्रीमान्लाई सम्झाइबुझाई गरे । हाल उनीहरू मिलेर बसेका छन् ।

000

१३ भदौ साँझ ८ बजे ललितपुर नख्खुका एक पुरुषले अस्पतालको हटलाइन नम्बरमा फोन गरे । उनले आफूलाई ऋण लागेको, साहुले अत्याएको र त्यही तनावले आत्महत्या गर्ने योजना बनाएको फोनबाट सुनाए । अस्पतालका परामर्शदाताले सुरुमा फोनबाटै सम्झाउने प्रयास गरे । तर, ती व्यक्तिले लामो कुरा सुन्नै चाहेनन्, बरु फोन काटिदिए । अस्पतालका मनोपरामर्शदाताले त्यो नम्बरमा ‘डायल’ गरे । तर, फोन उठेन । फोन नउठेपछि मनोपरामर्शदाताले ती व्यक्तिले दिएको विवरण र टेलिफोनका आधारमा प्रहरीलाई जानकारी गराए । महानगरीय प्रहरी परिसरको टोलीले उनको ‘लोकसन ट्र्याक’ गर्‍यो । राति १० बजे उनी भएको ठाउँमा प्रहरी र मनोपरामर्शदाता पुगे । उनलाई सम्झाइबुझाई गरे । त्यसपछि ती व्यक्तिले आफूले यस्तो गलत निर्णय कहिल्यै नलिने बताए ।

000

एक साताअघि मानसिक अस्पतालको फेसबुक पेजमा काठमाडौं महाराजगन्जका एकजना ३० वर्षीय पुरुषले आत्महत्या गर्न लागेको स्टाटस लेखे । सो स्टाटस देखेपछि अस्पतालका मनोपरामर्शदाताले फेसबुककै च्याटमा ती पुरुषको नम्बर मागे । परामर्शदाताले फोनबाट उनको समस्या बुझे र सम्झाउनु सम्झाए । तर, उनले एकोहोरो आत्महत्या गर्ने बताए । त्यसपछि परामर्शदाताले नजिकको प्रहरीलाई खबर गरे । प्रहरीसँगै परामर्शदाता ती पुरुषकहाँ पुगे । सम्झाइबुझाई गरेपछि ती व्यक्तिको जीवन बचेको मानसिक अस्पतालकी मनोपरामर्शदाता अमृता गुरुङले बताइन् ।

अस्पतालको हटलाइन नम्बर ११६६ मा मा १५ दिनअघि गोरखाका ७० वर्षीय वृद्धको फोन आयो । बुढेसकालमा श्रीमतीले छाडेर गएकीले ‘आत्महत्या गर्छु’ भन्दै उनले फोनबाट मनस्थिति बताए । ती वृद्धले मानसिक अस्पतालको नम्बर रेडियोमा सुनेर टिपेका थिए । फोन मनोपरामर्शदाता अमृता गुरुङले उठाएकी थिइन् । ती वृद्धलाई सम्झाइबुझाई गरिन् र उनकी छोरीको नम्बर मागिन् । त्यसपछि उनले ती वृद्ध व्यक्तिकी छोरीलाई फोन गरेर घटनाक्रम बताइन् । उनले जिल्ला प्रहरी कार्यालय गोरखालाई पनि जानकारी गराएर उनको नम्बर दिइन् । मनोपरामर्शदाताको फोनपछि प्रहरी र ती वृद्धकी छोरी घरमै पुगे । उनलाई मानसिक समस्या देखिएको पाइएपछि उपचारका लागि मानसिक अस्पतालमा ल्याइयो । हाल उनको अवस्था ठीक भएपछि घर फर्किएका छन् ।

पाटन अस्पतालले हटालाइन सञ्चालनमा ल्याएपछि विभिन्न व्यक्तिले आत्महत्या गर्न लागेको बताउँदै फोन गर्ने गरेका छन् । यीमध्ये केहीले अस्पतालको पहलमा जीवनदान पाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष