NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २० गते

परीक्षणका लागि आएकाबाट कुटिए केएमसी अस्पतालका चिकित्सक

काठमाडौं । चिकित्सकमाथि कुटपिटविरुद्ध थालिएको आन्दोलन फिर्ता भएको २४ घण्टा नपुग्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सक कुटिएका छन् ।

अस्पतालको नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्का बिरामीबाट कुटिएका हुन् ।

परीक्षणका लागि आएका दुईजनामध्ये एकजनाले चिकित्सकमाथि दिउँसो १२ बजेतिर कुटपिट गरेको अस्पतालले जनाएको छ ।

चिकित्सकको अवस्था भने सामान्य रहेको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहाले जानकारी दिए ।

कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

अहिले केएमसीमा अध्ययनरत चिकित्सकहरूले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन् । उनीहरूले चिकित्सक माथि हातपात गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

शनिबार साँझ मात्रै चिकित्सकमाथि कुटपिटविरुद्ध आन्दोलनरत चिकित्सक समूह र सरकारबीच ६ बुँदे सहमतिपछि ९ गतेदेखिको आन्दोलन फिर्ता भएको थियो ।