NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

पशुपतिमा जलहरी प्रकरणः सदस्य सचिव ढकाल र थापासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

१ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप

काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा दुई सदस्य सचिवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापा र कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालिन सदस्य सचिव थापा हाल कोषको सदस्य सचिव हुन् । आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४ सय ९१.७१८ ग्राम सुन हिनामिना गरेको आरोपपत्रमा उल्लेख गरेको छ ।

त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो ।

जलहरी राख्ने क्रममा कोषका तत्कालीन सदस्य सचिव डा. ढकाल सदस्य सचिव डा. थापासमेतको निर्देशनमा गर्भगृहमा रिङ्ग जडान गरेपछि बाँकी सुन राख्ने क्रममा बिनामुचुल्का अनाधिकृत रुपमा प्रयोग गरेको बयान उनीहरुले नै दिएको अख्तियारले जनाएको छ ।

ढकाल र थापाले सुनको संरक्षण गर्नुपर्नेमा नगरेको र जलहरी निर्माणमा आधिकारिक ज्ञान नभएको विज्ञलाई काम गर्न दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।