क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने
काठमाडौं । चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग प्रतिष्पर्धा गर्ने भएको छ ।
क्वाटरफाइनल खेलहरु भोलीबाट सुरु हुँदैछन् । आज सोमबार भएको ड्र अनुसार क्वार्टर फाइनलमा नेपालले भारतसँग खेल्ने तय भएको हो ।
नेपालले भारतसँग पहिलो पटक टी–२० आई खेल्ने भएको हो । तर नेपालले भारतसँग एसिया कपमा ओडीआई भने खेलिसकेको छ ।
एसियाली खेलकुदमा नेपालले यसअघि समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालले अन्तिम ८ मा भारतलाई हराएको खण्डमा पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ ।
नेपालले पहिलो खेलमा मंगोलिया र दास्रो खेलमा माल्दिभ्सलाई हराएको थियो । मंगोलियाविरुद्ध विश्व कीर्तिमानी जित निकालेको थियो । नेपालले मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको हो ।
टी–२० क्रिकेटमा मंगोलियाविरुद्ध मैदान उत्रिएको नेपालले तीन विकेटको क्षतिमा मंगोलियाविरुद्ध ३१५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठूलो अन्तरको जित हो ।
उक्त खेलमा कुशल मल्लले विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए ।
नेपालका लागि कुशलले ३४ बलमा अविजित रहँदै सर्वाधिक १३७ रन बनाएका थिए भने दीपेन्द्र सिंह ऐरीले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका थिए ।
माल्दिभ्ससँगको खेलमा भने अविनाश बोहरा चम्किएका थिए । उनले सानदार बलिङ गर्दै ३.४ ओभरमा मात्रै ११ रन खर्चेर ६ विकेट लिएका हुन् ।
क्वार्टरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग, श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया