एशियाली खेलकुद: महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना
काठमाडाैं । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो ।
आजको खेलमा नेपालले बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । पहिलो हाफमा नेपालले २१–१६ अङ्कको अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले १६–८ अङ्कको अग्रता लिएपछि जित पक्का भएको हो ।
महिला कबड्डीतर्फ नेपाल ‘समूह बी’मा रहेको छ । उक्त समूहमा नेपालसँगै बङ्गलादेश र इरान छन् । अब नेपालले महिला कबड्डीमा बलियो मानिएको इरानसित खेल्नेछ । इरानले बङ्गलादेशलाई पराजित गरेको अवस्थामा मात्र नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । यस्तो अवस्थामा नेपालले पदक पाउने पक्कापक्की हुन्छ ।
इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो । महिला कबड्डीको ‘समूह ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान रहेको छ ।
महिला भलिबलमा नेपाल दक्षिण कोरियासित पराजित
उन्नइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । चीनको हाङ्झाउमा आज भएको खेलमा दक्षिण कोरियाले नेपालाई २५–२१, २५–१४ र २५–११ अङ्कले पराजित गरेको हो ।
नेपाल यसअघि शनिबार भियतनामसँग ३–० सेटले पराजित भएको थियो । ‘समूह सी’मा नेपालसँगै भियतनाम र दक्षिण कोरिया छन् । पुरुष भलिबलमा नेपाल यसअघि नै पराजित भएर स्वदेश फर्किसकेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया