म्याग्दीका मुख्य सडक अवरुद्ध
म्याग्दी । अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भिर र मालिका गाउँपालिका–६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको छ ।
त्यसैगरी बेनी–जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२ नैनिबगर र वडा नं ३ को गुइँठेलगायत क्षेत्रमा पहिराले सडक अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
उनका अनुसार वर्षा नरोकिएको कारण पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुनसकेको छैन । बेनी–जोमसोम सडकखण्ड पहिराले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ ।
सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीच बाटैमा रोकिएका छन् । पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया