NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दसैँका लागि कहिले खुल्छ अग्रिम टिकट बुकिङ ?

काठमाडौं । सरकार र व्यवसायीबीच भाडादर समायोजनको विषयमा सहमति जुट्न नसक्दा दसैँका लागि हुने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । घटस्थापना आउन १२ दिन मात्रै बाँकी हुँदा पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला अन्योलमा परेको हो ।

आगामी ७ कात्तिकमा हिन्दू नेपालीहरूको पर्व विजयादशमी छ । त्योसहित आगामी तिहार र छठ पर्व मान्न काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू बाहिरिन्छन् । विशेष गरी घटस्थापना(२८ असोज)पछि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढ्छ । तर, घटस्थापना नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ खुल्न नसकेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ ।

अग्रिम टिकटका लागि ५ असोजमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा कार्यदल बनेको थियो । त्यो कार्यदलले एक हप्ता अर्थात् १३ असोजभित्र अध्ययन प्रतिवेदन भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने र त्यसकै आधारमा अग्रिम टिकट बुकिङ खुला गर्नेलगायत कार्ययोजना थियो । तर, व्यवसायी र सरकारबीच सहमति जुट्न नसक्दा उक्त कार्यदलले पनि प्रतिवेदन तयार गर्न सकेको छैन ।

अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवसायीले दुइटा माग अघि सारेका छन् । घटस्थापनाअघि राष्ट्रिय राजमार्गहरू मर्मत–सम्भार भइसक्नुपर्ने उनीहरूको पहिलो माग छ । स्तरोन्नतिमा गएका नागढुंगा–नौबिसे–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर, ढल्केबर–कोशी ब्यारेजलगायतका राष्ट्रिय राजमार्गमा निकै खाल्डाखुल्डी छन् । यसका अलावा अन्य सडकहरूमा पनि पहिरो गएको तथा खाल्डाखुल्डी छन् । यसले गर्दा तीन घन्टाको बाटोमा नौ घन्टासम्म यात्रा गर्नुपर्ने र टिकट बुकिङको समयतालिकाअनुसार समयमै सेवा दिन नसकिने व्यवसायीको भनाइ छ ।

तसर्थ, दसैँको यात्रालाई समयमै र सहज बनाउन तत्काल उक्त सडकहरू ममर्त–सम्भार गर्नुपर्ने माग छ । अन्यथा उक्त खण्डहरूलाई कच्ची सडक भनेर वर्गीकरण गरी सोहीअनुसार भाडादर तोक्नुपर्ने उनीहरूको माग छ ।

साथै, सार्वजनिक यातायातको भाडादर पनि समायोजन गर्नैपर्ने व्यवसायीको प्रमुख माग छ । दुई वर्षयता सार्वजनिक भाडाको दर समायोजन हुन सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष