NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रधानमन्त्री बन्न पालो कुर्ने होइन, यही सरकारलाई सघाउने हो : नेता नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको बताएका छन् ।

जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने बताउँदै भने, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि पर्याप्त भने नभएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनले बताए ।

नेपालले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ ।’

नेता नेपालले गठबन्धनका कसैले पनि यो सरकारलाई कमजोर बनाउन नचाहेको बताउँदै यो सरकारलाई मजबुद बनाउन अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।