NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कैदीले जेल बाहिर बस्न पाउने कानुन कार्यान्वयन हुँदै, कहिलेबाट कस्ता कैदीले पाउँछन् यस्तो सुविधा?

काठमाडौं । कात्तिक १ गतेबाट कैदीहरु जेल बाहिर बस्न पाउने भएका छन् । यसो भन्दै गर्दा सबै कैदीहरु जेल बाहिर बस्न भने पाउने छैनन् ।

यसका लागि सरकारले चालचलन राम्रो भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

कानुन अनुसार अब एक वर्षभन्दा बढी कैद सजाय पाएका कैदीहरुको हकमा पाएको सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेका र राम्रो आचरण भएकाहरुलाई प्यारोलमा राख्न सकिने छ ।

प्यारोल भन्नाले बन्दीले आफू बाहिर निस्कनुपर्दा कारागार आदिका अधिकारीलाई दिइने मौखिक विश्वास वा वचन हो ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा यस्तो कानुन छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ऐनको दफा १७ को (च), दफा २९ र दफा ४९ मा रहेको प्यारोलसम्बन्धी व्यवस्था कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेपछि यो कार्यन्वयन हुन लागेको हो ।

बैठकले प्यारोल अधिकृतको नियुक्ति नभएसम्मका लागि सम्बन्धित कारागार प्रशासकलाई प्यारोल अधिकृत तोक्ने निर्णय पनि गरेको छ ।

यससँगै अब दुई तिहाई कैद सजाय भुक्तान गरेका र चालचलन राम्रो भएका कैदीलाई अदालतले जेल बाहिर स्वतन्त्र समाजमा बस्ने छुट दिन सक्नेछ ।

ऐनको दफा १७ को खण्ड च मा कसुदारलाई प्यारेलमा छाड्न सकिने कि नसकिने खुलाउनुपर्ने उल्लेख छ । दफा २९ मा प्यारोलमा राख्न सकिने व्यवस्था छ ।

दफा २९ (१) मा भनिएको छ, ‘एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायका दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोल बोर्डको सिफारिसमा जिल्ला अदालतको न्यायाधीशले प्यारोलमा राख्ने आदेश दिनसक्नेछ ।’

दफा ४९ मा यसका लागि प्यारोल अधिकृत तोक्ने सम्बन्धी व्यवस्था छ ।