अनुमतिबेगर सिटिइभिटीको कार्यक्रममा विद्यार्थी भर्ना गर्दै शैक्षिक संस्था
काठमाडौं । विभिन्न शैक्षिक संस्थाहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट अनुमति नलिई उसले सञ्चालन गरेका शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गरेको पाइएको छ ।
सिटिइभिटीले सञ्चालन गरेको शैक्षिक कार्यक्रममा विद्यार्थी अध्यापन गराउन शैक्षिक संस्थाहरूले अनुमति लिनुपर्ने प्रावधान छ । यही व्यवस्थाअनुसार शैक्षिक सत्र ०८०/८१ मा आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गर्न परिषद्ले सूचना जारी गरेकोमा गत असार २८ गते त्यस्ता शैक्षिक संस्थाको नामावली सार्वजनिक गरिएको थियो । तर केही शिक्षण संस्थाले परिषद्बाट अनुमति नलिई विद्यार्थी भर्ना गरेको पाइएको छ ।
सिटिइभिटीले आफूहरूले अनुमति नदिएका शैक्षिक संस्थाहरूले विद्यार्थी भर्ना लिएको गुनासो प्राप्त भएको जनाएको छ । अनुमति नलिई शैक्षिक संस्थाले भर्ना गरेको उल्लेख गर्दै परिषद्ले सरोकारवालाई सचेत हुन आग्रह गरेको छ ।
‘यस कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख भई समावेश भएकाबाहेक शिक्षण संस्था र कार्यक्रमहरूमा भर्ना गरे/गराएको भन्ने गुनासो प्राप्त हुन आएकाले त्यस्ता शिक्षण संस्थाहरूमा भर्ना नहुन/नगराउन सम्बन्धित सरोकारवालालाई सूचित गरिन्छ,’ परिषदद्वारा जारी सूचनामा भनिएको छ ।
परिषद्ले नियमविपरीत शैक्षिक संस्थाहरूले विद्यार्थी भर्ना गरेको जनाए पनि त्यस्ता शैक्षिक संस्थाको नाम भने खुलाएको छैन ।
परिषद्ले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा अनधिकृत ढंगले विद्यार्थी भर्ना गर्ने प्रवृत्ति पुरानै हो । गत वर्ष पनि केही शैक्षिक संस्थाले यसैगरी जस्केलाबाट विद्यार्थी भर्ना लिएपछि परिषद्ले सचेत गराएको थियो ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया