NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

हत्या कसुरमा कैद सजाय पाएका गुण्डा नाइकेसँग धमलाले लिए अन्तर्वार्ता

काठमाडौं । हत्या अभियोगमा अदालतबाट कैद सजाय पाएका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलसँग पत्रकार ऋषि धमलाले अन्तर्वार्ता गरेका छन् ।

संविधान दिवस अवसरमा मन्त्रिपरिपदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका रिगलसँग पत्रकार आचारसंहिताविपरीत धमलाले आफ्नो टेलिभिजन ‘टक शो’ ‘जनता जान्न चाहन्छन्’मा अन्तर्वार्ता गरेका हुन् ।

सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालले जारी गरेको आचारसंहितामा पत्रकार तथा आमसञ्चार माध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्न नहुने उल्लेख छ । त्यस्तै, विपत्ति, शोक, पीडामा परेका व्यक्ति, तिनका आफन्तमा थप पीडा हुने गरी वा सार्वजनिक संवेदनशीलतामा असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेतलगायतका सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न  गर्न पाइँदैन ।

पत्रकार आचारसंहितामा यस्तो भए पनि धमलाले हत्यामा दोषी ठहर गुण्डा नाइकेको मनोबल बढ्ने तथा पीडितलाई थप पीडा पुग्ने गरी अन्तर्वार्ता लिएका छन् । हत्यामा दोषी ठहर रिगललाई स्पष्टीकरण दिन मौका दिएका धमलाले कुराकानीको शीर्षक नै पीडितलाई पीडा पुग्ने गरी राखेका छन् ।

पत्रकारिताको न्यूनतम मूल्य र मान्यतालाई चुनौती दिँदै आइरहेका धमलाले विगतदेखि नै पत्रकार आचारसंहिताविपरीत अन्तर्वार्ता लिँदै आएका छन् । केही समयअघि उनले मन्त्रिपरिषद्को सिफारिसमा कैद सजाय मिनाहा पाएका रेशम चौधरीको पनि अन्तर्वार्ता गरेका थिए ।

हत्या कसुरमा अदालतले कैद सजाय सुनाएका व्यक्तिसँग अन्तर्वार्ता लिएपछि पत्रकारहरूले आलोचना गरेका छन् ।

चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भई कैद सजाय सुनाइएका रिगललाई संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । मन्त्रिपरिषद्ले आफ्नो अधिकार दुरूपयोग गरेको भन्दै यतिबेला यसको चौतर्फी आलोचना भइरहेको छ भने चेतनकी पत्नी भारतीय मानन्धरले यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै गत बिहीबार सर्वोच्चले सबै मिसिल झिकाउन आदेश दिएको छ ।