NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इजरायलमा रहेका नेपालीको उपचारसँगै र स्वदेश फिर्तीका वातावरण बनाऊँ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परेकाहरूको उद्धार, उपचार र स्वदेश फिर्ताको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आक्रमणमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याएर परिवारजनलाई बुझाउन आग्रह गर्ने निर्णय गरेको हो ।

संसदीय दलले आक्रमणमा परी निधन भएका नेपालीहरुप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

इजरायलमा हमासको आक्रमणको घटनाबाट प्रभावित भएका नेपाली नागरिकबारे सरकारलाई लिखितरुपमा चार वटा आग्रह गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

रोजगारी तथा अध्ययनका लागि इजरायल गएका नेपालीहरु इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउनका लागि समेत सरकारलाई आग्रह गरेको लेखकले बताए ।

घटनामा घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था मिलाउन र सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न समेत कांग्रेस संसदीय दलको बैठकले माग गरेको छ ।

बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको युद्धबाट प्रभावित नेपालीहरुको अवस्थाबारे जानकारी गराएका थिए ।