पूर्ण रूपमा मनसुन बाहिरिन अझै केही दिन लाग्ने, आज हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ। बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो। बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो।
प्रतिक्रिया