NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

एमाले सुदूरपश्चिम अधिवेशनः भीम रावलविरुद्ध थापा र भण्डारी एकजुट

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज दिउँसोबाट मतदान सुरु हुँदैछ ।

आइतबारबाट सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको भएपनि सहमती नजुटेपछि निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो ।

मतदान आज दिउँसो १ बजेबाट सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण मंगलबार साँझदेखि हुने भनिएको मतदानको तालिका हेरफेर गरेर बुधबार दिउँसोसम्मका लागि सारिएको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेताहरु दामोदर भण्डारी र कर्ण थापाले अध्यक्षमा छुट्टा छुट्टै उम्मेदवार अघि सारेका थिए । थापा एमाले स्थायी कमिटी सदस्य हुन् भने भण्डारी प्रदेश अध्यक्ष हुन् ।

भण्डारीले अछामका कमल तिमिल्सैनालाई अध्यक्षमा उठाउन खोज्दा थापाले अछामकै कृष्णप्रसाद जैसीलाई अघि सार्ने देखिएकाे थियाे । उनीहरुले उम्मेदवारी पनि दर्ता गराइसकेका थिए । यो प्रदेश एमालेका पुर्वउपाध्यक्ष भीम रावलको गृह प्रदेश हो । तर उनी अधिवेशनमा भने देखिएका छैनन् ।

ओली निकटकै नेताहरुले फरक फरक उम्मेदवार उठाउँदा त्यसको फाईदा रावल समूहलाई हुने भएपछि अहिले थापा र भण्डारी मिलेका छन् । उनीहरुले कृष्णप्रसाद जैसीलाई अध्यक्षको उम्मेदवार बनाउन र तिमिल्सैनालाई उम्मेदवारी फिर्ता गराउन सहमत भए ।

यता लेखराज भट्टले अघि सारेका अध्यक्षका उम्मेदवार वचनबहादुर सिंहले आफ्नो उम्मेदवार कायम रहेको बताएका छन् भने, रावल निकट मानिने अध्यक्षमा उम्मेदवारी दिएका अछामकै भरत साउँदले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।

उपाध्यक्षतर्फ हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता लिए । कालीबहादुर शाहीसहितका ५ जनाको उम्मेदवारी यथावत छ । सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिए । राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ ।

उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिए ।