अस्पतालबाटै शिशु चोरेर बिक्री, डाक्टर जेल चलान

विराटनगर । अस्पतालबाटै नवजात शिुशु बिक्री गरेको अभियोग लागेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.तपेश्वरलाल कर्ण जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले बुधबार तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
६८ वर्षीय डा.कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् । उनले नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गरेका थिए ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा. कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी–२ आर्दशटोलका सूर्यनारायण राजवंशी र भोजपुर हतुवागढी–४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएका हुन् ।
सोही मुद्दामा पक्राउ परेका कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा राजवंशी २ लाख, सिरहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र कटहरी २ की ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । सुधा शिशु बिक्री भएको ग्रिनक्रस अस्पतालकी सफाइ कर्मचारी, निर्मला डा. कर्णकी सहयोगी र दिलमनी शिशु किन्ने सूर्यनारायणकी आमा हुन् ।
मोरङ प्रहरीले दुई महिनाअघि डा.कर्णसहित ७ जनालाई नियन्त्रमा लिएर अनुसन्धान गरी संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा दायर गरेको थियो ।
डा.कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका सूर्यनारायण राजवंशीको निसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया