NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

महेश बस्नेत सहभागी कार्यक्रममा पार्किङ गरिएका गाडीमा दुर्गा प्रसाईका कार्यकर्ताद्वारा तोडफोड

 

काठमाडौं । झापामा एमाले नेता कार्यकर्ताका गाडीमा तोडफोड भएको छ । अर्जुनधारामा महेश बस्नेत सहभागी युवा संघको कार्यक्रम बिथोल्न गएकाहरुले गाडीमा तोडफोड गरेका हुन् ।

युवा संघको कार्यक्रममा सहभागि हुन त्यहाँ पुग्न लाग्दा बस्नेतमाथि केहि युवाहरु तथानाम गाली गर्दै टाढाबाट ढुंगा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

तर भिडियोमा बस्नेत भने देखिएका छैनन् । केहि युवाहरुको जमातले गाली गर्दै ढुंगा प्रहार गरिरहेका देखिन्छन् ।

त्यसपछि बस्नेत कार्यक्रम स्थलमा पुगे । उनले कार्यक्रमलाई सम्बोधन पनि गरे । त्यसपछि आफ्नो सामाजिक सञ्जाल फेशबुकमा पनि यसबारे केहि जनाएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय युवा संघ झापा, अर्जुनधारा नगर कमिटीको प्रथम ऐतिहासिक अधिवेशनको खुल्ला सत्रलाई नेताहरु सम्बोधन गर्दै । कार्यक्रम बिथोल्छु भन्ने अराजक र नस्लवादीहरुलाई चुनौती दिदै क्रान्तिकारी युवाहरुले ३ सय गाडी र ५ सय बाइकले स्वागत गरेर झापा एमालेको गड हो भन्ने प्रमाणित गरेका छन । सबैलाई धन्यवाद ।’

कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधनमाथि तोडफोड भएको बस्नेतले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले दुर्गा प्रसाईँका कार्यकर्ताबाट तोडफोड भएको बताएका छन् ।

तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ । आईजी राजेशनाथ बास्तोलाले तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए ।