NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

राष्ट्रिय महिला आयोगको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

काठमाडौं । राष्ट्रिय महिला आयोगले आफ्नो १६ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताए ।

उनले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपपस्थिति आशालाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताए ।

‘तापनि जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने ।

उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाहरुको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक रहेको समेत बताए ।

सो अवसरमा आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले गरेका काम कार्वाहीको बारेमा संक्षिप्त जानकारी गराइन् । उनले महिला हक अधिकारको संरक्षण तथा हिंसा पीडित महिलालाई प्राथमिकता दिएर आयोगले काम गरीरहेको बताइन् ।