NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोशी मुख्यमन्त्रीमा आ-आफ्नै अडान, समर्थक सांसदको सनाखत आज

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेसका केदार कार्की र माओवादीका इन्द्रबहादुर आङ्बोको समर्थनमा हस्ताक्षर गरेका सांसदको आज शनिबार सनाखत गराउने निर्णय गरेका छन् । सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि आह्वान गरेको सातदिने समयसीमा शुक्रबार साँझ ५ बजे सकिएपछि खापुङले सनाखत गराउने निर्णय गरेका हुन् । कार्की र आङ्बोले ४७/४७ सांसदको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी गरेका थिए ।

गठबन्धन दलको निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूलाई समर्थन गरेका कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदसहित शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए । मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएको र दुवैले ४७/४७ सांसदको हस्ताक्षर पेस गरेको भन्दै प्रमुख खापुङले शनिबार सनाखत गराउने विषयमा छलफल गरेका थिए । कार्कीले शुक्रबारै सनाखत गराउनुपर्ने अडान लिएका थिए । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई दबाब दिएर नियुक्ति प्रक्रिया लम्ब्याउने सूचना पाएपछि कार्की आफ्ना सांसदसहित प्रमुखको कार्यालय पुगेका थिए ।

कोशी कांग्रेस कार्यसम्पादन समितिको शुक्रबारको बैठकले गठबन्धन दलको निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी गरेका कार्की र उनलाई समर्थन गरेका प्रदेश सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । ३१ सदस्यीय कार्यसम्पादन समितिमध्ये १४ सदस्यको उपस्थितिमा बसेको बैठकले कोशी संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकको कोरम पुग्न नदिने रणनीतिअनुसार कांग्रेस नेता शेखर कोइराला समूहका केही सदस्य हस्ताक्षर नगरी फर्केका थिए । आङ्बोले यसअघि अर्कै प्रयोजनका लागि हस्ताक्षर गरेका कांग्रेस सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको आरोप शेखर पक्षले लगाएको छ । आठ सांसदबाहेक कांग्रेसकै हिमाल कार्कीले पनि शुक्रबार नै मुख्यमन्त्रीमा आफूहरूको समर्थन कार्कीलाई रहेको भन्दै प्रदेश प्रमुखलाई संयुक्त निवेदन बुझाएका थिए ।

राप्रपाले भने सरकार गठनको विषयमा तटस्थ बस्ने निर्णय गरेको छ । संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफूहरू तटस्थ बस्ने र विश्वासको मत लिने बेला कार्कीलाई समर्थन गर्ने बताएका छन् ।
कान्तिपुर दैनिकबाट