NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् ।

पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।’

प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे । ‘अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ । तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्’, उनले भने ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उनको भनाइ छ । उनले थपे, ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो । यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ ।’

प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताए ।

‘म प्रधानमन्त्री भएपछि भएका भारत, इटली, संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका क्रम जे सहमति र समझदारी भएका छन्, त्यसले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधिनता, असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा पु¥याएको छ’, उनले भने ।

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ ।

उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए । संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो ।

सो अवसरमा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेपाल धेरै प्रदूषण हुने मुलुकको सूचीमा विश्वको दशौँ नम्बरमा रहेको उल्लेख गर्दै यसलाई घटाउन सरकार लागिपरेको बताए । उनले गठबन्धनको सरकार पाँच वर्ष टिक्ने र राजनीतिक स्थिरता कायम रहने उनको भनाइ थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र ९२ प्रतिशत नागरिकले स्वच्छ खानेपानी उपभोग गर्न पाएको भन्दै दुई वर्षभित्र शतप्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने बताए ।

खानेपानी मन्त्रालयका सचिव रामआधार साहले सन् २०३० सम्ममा शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको बताए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष