NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोशीको सफलतापछि गठबन्धन भत्काउने यस्तो छ एमाले रणनीति

काठमाडौं । कोशीमा सत्तारूढ गठबन्धन भत्काउन सफल भएपछि प्रमुख विपक्षी दल एमाले केन्द्र र अन्य प्रदेश सबैतिर नयाँ गठबन्धनको पक्षमा उभिएको छ । सबैभन्दा ठूलो दल कांग्रेससँग केन्द्रदेखि अन्य प्रदेशमा सत्ता–सहकार्यका विभिन्न विकल्पमा संवाद गर्ने एमालेको प्रस्ताव छ ।

एमालेले स्थिरता, अराजकताको अन्त्य, सांस्कृतिक मूल्य–मान्यताको रक्षा, महँगी र भ्रष्टाचार नियन्त्रणका लागि हात अगाडि बढाइसकेकाले सहकार्य कांग्रेसको निर्णयमा निर्भर रहने नेताहरूको भनाइ छ । तर, कांग्रेसको संस्थापन पक्ष तयार नभए पनि डा. शेखर कोइराला नेतृत्वको कांग्रेसको विद्रोही पक्षलाई साथ दिने एमालेको नीति छ ।

कोइराला पक्ष पनि एमालेसँगको सहकार्यलाई निरन्तरता दिन तयार भएपछि दुई पक्षको सहमतिमा आइतबार नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । शपथ लिनुअघि मुख्यमन्त्री कार्की एमाले अध्यक्ष केपी ओलीलाई भेटेर काठमाडौंबाट विराटनगर फर्किएका थिए । जब कि कोइरालाले शनिबार प्रधानमन्त्री र कांग्रेस सभापतिसँग अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका थिए ।

‘हामी वर्तमान सत्तागठबन्धनप्रति दृढ र स्पष्ट छौँ, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौँ,’ प्रधानमन्त्री र कांग्रेस सभापतिसँग यस्तो सहमति गरेको २४ घन्टा नबित्दै उल्लंघन गरेर कोइरालाले एमालेसँग केन्द्र र प्रदेश दुवैतिर सहकार्यका लागि ढोका खुला राखेको सन्देश दिएका छन् । कोइरालाको कदमले गठबन्धनलाई झट्का लागेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सम्भावित मध्यावधि रोकेर राजनीतिक स्थिरताका लागि कोशीबाट आफ्नो पार्टीले सत्ता–सहकार्यको हात अगाडि बढाएको टिप्पणी गरे । ‘मुलुकमा स्थिरता दिनुपर्ने आवश्यकता छ भन्ने महसुस गरेर हामीले कांग्रेससँग सहकार्यका लागि हात अगाडि बढाएका छौँ । तर, यसलाई कांग्रेसले संस्थागत रूपमा कसरी लिन्छ, सबै कुरा उसैमा निर्भर हुनेछ,’ उनले भने, ‘हामीले सहकार्यका लागि हात दिँदा त्यसलाई कांग्रेसले गम्भीरतापूर्वक लिएन भने मुलुकमा कांग्रेसकै कारण अझ बढी संकट आउन सक्छ,’ गौतमले भने ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिक्मत कार्कीले कांग्रेस नेता शेखर कोइराला समूहसँगको सहकार्य दाउपेचबाट नभई पवित्र उद्देश्यबाट प्रेरित भएको दाबी गरे । ‘कांग्रेससितको हाम्रो सहकार्य पवित्र उद्देश्यबाट प्रेरित छ । कोशीमा प्रयास गर्दैमा केन्द्रमा पनि त्यसैको प्रभाव परिहाल्छ त भन्न सकिन्न । तर, अहिलेको सूचना प्रविधिको युगमा स्वाभाविक रूपमा यसको प्रभाव देशभर पर्न भने सक्छ,’ कार्कीले भने, ‘केन्द्रदेखि प्रदेशसम्म कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने समयको माग हो । कांग्रेसले यसलाई समयमै बुझ्न सकेन भने पछि मिल्छु भन्दा पनि मिल्न नपाउने गरी समय घर्किन पनि सक्छ ।’ हामीले यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।

ताजा अपडेट

नेपालवाच विशेष