NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तीन तहका २४ ठाउँमा जनप्रतिनिधि रिक्त, कहिले हुन्छ चुनाव ?

काठमाडौं । स्थानीय तह, प्रदेश सभा र संघीय संसद्का २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । आयोग त्यसको तयारीमा छ । ०७९ वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभा र संघीय संसद्को निर्वाचन भएको थियो ।

दल त्याग प्रयोजनमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह सोमबार पदमुक्त भएसँगै देशभर २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य एक, जिसस प्रमुख दुई, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, वडाध्यक्षको १७ पद रिक्त भएको छ ।

आयोगको तथ्यांकअनुसार संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उनी निर्वाचित इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ । यसैगरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उनी निर्वाचित बझाङ १ (१) रिक्त भएको आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेल अघिल्लो पुसमा मिर्गौला फेल भएर निधन भएपछि यो पद रिक्त छ । त्यस्तै ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनाल गत १३ असोजमा उपचारका क्रममा निधन भएपछि पद रिक्त छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएपछि यो पद पनि रिक्त छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि पद रिक्त छ ।

आयोगका अनुसार सुनसरीको गढी गाउँपालिका– ६, उदयपुर त्रियुगा नगरपालिका– १२, रौतहट इशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका– ६, काठमाडौं कीर्तिपुर नगरपालिका– ४, नुवाकोट ककनी गाउँपालिका– २, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मी मुसीकोट गाउँपालिका– १, रोल्पा रुन्टीगढी गाउँपालिका– ४, बर्दिया ठाकुरबाबा नगरपालिका– ४, कालिकोट तिलागुफा नगरपालिका– ४, जाजरकोट कुशे गाउँपालिका– ७, दार्चुला दुहुँ गाउँपालिका– ५, बझाङ सुर्मा गाउँपालिका– ४, डोटी पूर्वीचौकी गाउँपालिका– ६ र काठमाडौं महानगरपालिका– १६ मा वडाध्यक्ष पद रिक्त छ ।

जनप्रतिनिधिको रिक्तता मुख्यतः मृत्यु भएका कारण भएको आयोगको प्रतिवेदनमा छ । ‘केही वडाध्यक्ष तल्लो तहबाट उपल्लो तहमा जानुभयो, जिसस प्रमुख हुनुभयो । एकाधले राजीनामा पनि दिनुभएको हो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

रिक्त पदपूर्तिका लागि आयोगले उपनिर्वाचनको तयारी थालेको छ । रिक्त रहेका स्थानको जानकारी सरकारलाई गराइसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘उपनिर्वाचनको हकमा स्थानीय तहको निर्वाचन आयोगको परामर्शमा सरकारले घोषणा गर्ने हो । प्रधानमन्त्री, उपप्रधानमन्त्री भेटेर आयोगले सरकारलाई जानकारी गराएको छ । सरकारले मिति घोषणा गरेपछि आयोगले चुनाव गराउँछ,’ उनले भने । उनका अनुसार आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम उपचुनाव गराउनेछ । साथै, संघ र प्रदेशको रिक्त स्थानमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम उननिर्वाचन सम्पन्न गरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।