NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चौरजहारीमा भएको घटनामा आधारित म्युजिक भिडियो रिलिज हुँदै

काठमाडौं । सांग्रिला इन्टरटेन्मेन्ट च्यानलबाट “हुन्छ भन नभन नाईं भनी” म्यूजिकल रिलिज हुने भएको छ । सत्य घटनामा आधारित उक्त म्युजिक भिडियो भोलि शुक्रबार प्रदर्शन हुने भएको हो ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँमा भएको घटनामा आधारित यस म्यूजिकल भिडियो फिल्मले नेपाली समाजमा अझैसम्म व्याप्त रहेको जातीय विभेदको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेका जाजरकोटका नवराज वि.क. र उनका साथीहरु माथि गरिएको विभत्स हत्या र हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको दर्दनाक घटनाले सिर्जना गरेको हाम्रो सामाजिक परिवेश र जातीय मानसिकतालाई यस फिल्ममा कलाकारहरुले यथार्थपरक रुपमा प्रस्तुत गरेका छन् ।

अनिश अधिकारीको शब्द संगीत तथा अनिश अधिकारी र शान्तीश्री परियारको स्वर रहेको यो गिती कथामा आधारित म्यूजिकल भिडियो फिल्म रुविन घर्तीमगरको एरेन्ज तथा मञ्जुरी डिजिटल रेकर्डिङ्ग स्टुडियोबाट निर्माण गरिएको हो ।

कलाकार सारांश थपलियाकोे स्वामित्वको सांग्रिला इन्टरटेन्मेन्ट च्यानलबाट उक्त भिडियो रिलिज हुन लागेको हो । नेपाल टेलिभिजनबाट प्रशारित प्रसिद्ध हास्य टेलिश्रृङ्खला “जिरे खुर्सानी” मा बालकलाकारको रुपमा उनले अभिनय यात्रा सुरु गरेका थिए ।

हालसम्म उनले पल, अचानक, लक्की सेभेन, बर्षाद, समय, परिवर्तन आदि तथा बिभिन्न हास्यव्यंग्य कार्यक्रममा आफ्नो अभिनयकला देखाइसकेका छन् ।

कलाकार थपलियाले प्रस्तुत गरेको यस भिडियोमा सन्दीप बाबु लोहनी, अस्मिता लामिछाने र सारांश थपलिया लगायतको अभिनय रहेको छ । बिभिन्न नेपाली चलचित्र तथा म्यूजिक भिडियोको निर्देशन गरी सकेका युवा निर्देशक सविन अधिकारीद्वरा निर्देशित यस म्यूजिक भिडियोको छायांकन क्राइसिस ज्याक तथा सम्पादन आलोक वाग्लेले गरेका छन् ।

सांग्रिला इन्टरटेन्मेण्ट च्यानलको यो पहिलो प्रस्तुति हो । थपलियाले भिडियोबारे आवश्यक सुझाव तथा प्रतिक्रियाको लागि दर्शकसंग आग्रह गरेका छन् । उनका अनुसार च्यानलले बिभिन्न नेपाली म्यूजिक भिडियोहरु प्रस्तुत गर्दै जानेछ ।